


धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण नितान्त व्यक्तिगत भएको स्पष्ट पार्दै यसलाई राजनीतिक विषयसँग नजोड्न आग्रह गरेका छन् ।


पत्नी निकिता लामिछानेसहित तीन दिने भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए । धनगढी विमानस्थलबाट कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका उनी त्यहाँबाट भारततर्फ प्रस्थान गरेका हुन् ।





भारत प्रस्थान गर्ने क्रममा लामिछानेले आफ्नो भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको स्पष्ट पारे । व्यक्तिगत विषयलाई अनावश्यक रूपमा राजनीतिक बहसको विषय नबनाउन पनि उनले आग्रह गरे ।


‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु । यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ,’ उनले भने ।
लामिछानेले आफू कारागारमा रहँदा भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम जाने भाकल गरेको र सोही भाकल पूरा गर्न परिवारसहित भारत जान लागेको बताए । धार्मिक आस्था, विश्वास र पारिवारिक संस्कारका कारण पनि भारत भ्रमणको योजना बनाएको उनको भनाइ छ ।
‘पहिलादेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक आस्था, विश्वास र पारिवारिक संस्कार पनि हो । मेरो परिवार पनि आध्यात्मिक भएको हुनाले पहिलादेखि नै जाऔँला भन्ने थियो । म कारागारमा हुँदा भाकल गरेको थिएँ । त्यसलाई पूरा गरौँ भनेर जान लागेको हुँ,’ उनले भने ।
भ्रमणका क्रममा लामिछाने परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।






