










जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार एनपीएलको सुरक्षा व्यवस्थाबारे शनिबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियमको निरीक्षण गरेको थियो।
प्रहरीले खेलाडीको सुरक्षा, उनीहरू बस्ने आठवटा होटल, होटलदेखि स्टेडियमसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन तथा खेल सञ्चालनका क्रममा स्टेडियम र दर्शकको सुरक्षालाई छुट्टाछुट्टै वर्गीकरण गरी व्यवस्था मिलाएको घिमिरेले बताए।
प्रतियोगिताको उद्घाटन र समापन समारोहमा विशिष्ट तथा अति विशिष्ट व्यक्तिको आवागमन हुने भएकाले उनीहरूको सुरक्षामा समेत विशेष ध्यान दिइने प्रहरीले जनाएको छ। सुरक्षाका लागि सादा पोसाकका प्रहरीसमेत परिचालन गरिनेछ। स्टेडियम तथा आसपासका क्षेत्रमा सीसीटीभीबाट निगरानी गरिनेछ। सम्भावित सुरक्षा जोखिम नियन्त्रण गर्न ड्रोन र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिने प्रहरीले जनाएको छ।
स्टेडियममा जडान गरिएका सीसीटीभी क्यामेराको निगरानी त्यहीँ खटिएका प्रहरीले गर्नेछन् भने अन्य क्षेत्रका क्यामेराबाट प्राप्त दृश्य प्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट अनुगमन गरिनेछ।
नेपाल प्रहरीसँगै बाह्य सुरक्षाका लागि सशस्त्र प्रहरी बलसमेत परिचालन गरिने जनाइएको छ।






