


धनगढी । बझाङमा साढे ५ किलो चरेसजस्तो देखिने लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोष्ट बागथलाबाट खटिएको प्रहरी टोलीले बित्थडचिर गाउँपालिका–८ स्थित बागथला बजारमा रहेको जयपृथ्वी राजमार्गबाट उनलाई पक्राउ गरेको हो।
आइतबार साँझ साढे ५ बजे चैनपुरबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बस जाँच गर्ने क्रममा बसको पछाडिको डिक्कीमा कालो झोलाभित्र लुकाइछिपाइ राखिएको चरेसजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।



पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ बस्ने ३० वर्षीय कटक जप्रेल रहेका छन्। उक्त पदार्थ प्लास्टिकसहित ५ किलो ४५० ग्राम र शुद्ध तौल ५ किलो १९५ ग्राम रहेको प्रहरीले जनाएको छ।





प्रहरीले जप्रेललाई नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोष्ट बागथलामा राखेको छ । घटनाबारे थप अनुुन्धान भइरहेको प्रहरीले जनाएको छ ।






