


काठमाडौं । ‘बिचौलिया’को आरोपमा पक्राउ परेका इनम सापकोटासँग विभिन्न उच्चपदस्थ व्यक्तिको सम्बन्ध रहेको भन्दै प्रकाशित समाचारको आधिकारिकता पुष्टि गर्न काठमाडौं प्रहरीले आग्रह गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा सापकोटासम्बन्धी मुद्दाको अनुसन्धान गोप्य रूपमा भइरहेको र संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको उल्लेख छ ।





अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रतिबद्ध रहेको जनाउँदै प्रहरीले मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले आधिकारिकता पुष्टि गर्न अनुरोध गरेको छ ।


विभिन्न सञ्चारमाध्यममा सापकोटाको मोबाइलको प्राविधिक जाँचका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एआईजी राजन अधिकारी, पूर्वएआईजी तथा रास्वपा सांसद विश्वराज पोखरेल र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँललगायतसँग सम्बन्ध देखिएको दाबी गर्दै समाचार प्रकाशित भएका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध रहेको भनिएपछि सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनी हाल अभद्र व्यवहारको कसुरमा हिरासतमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सम्बन्धित समाचार परिसरबाट उपलब्ध नगराइएको स्पष्ट पार्दै प्रकाशनअघि विवरणको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको हो ।







