


काठमाडौं । भारतको लखनउ विमानस्थलमा भारतीय राहदानी प्रयोग गरेर संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहाँ जान लागेका नेपाली नागरिक दिनेश खड्का वनएक्स बेटका पूर्वमुख्य एजेन्ट रहेको खुलेको छ ।


कैलालीको लम्कीचुहा नगरपालिका–१० का खड्का बुधबार बिहान भारतीय अध्यागमन अधिकारीबाट पक्राउ परेका हुन् । उनी भारतको लखिमपुर खिरीका नरेश कुमारका छोरा ‘दिलीप कुमार’को नाममा जारी भारतीय राहदानी प्रयोग गरेर यात्रा गर्न लागेका थिए ।






नियमित जाँचका क्रममा राष्ट्रियतामाथि शंका लागेपछि भारतीय अधिकारीहरूले कागजात छानबिन गरेका थिए । सोधपुछका क्रममा खड्काले आफू नेपाली नागरिक भएको स्वीकार गरेको र उनको साथबाट नेपाली नागरिकताको प्रमाणपत्र, प्यान कार्डलगायत कागजात फेला परेको बताइएको छ ।

भारतीय प्रहरीले उनीविरुद्ध किर्ते सरकारी पहिचानपत्र प्रयोग गरेको, नक्कली कागजातलाई सक्कलीका रूपमा प्रयोग गरेको तथा राहदानी प्राप्त गर्न झुटो विवरण पेस गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
खड्का यसअघि पनि नेपालमा अवैध अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारको अनुसन्धानमा जोडिएका थिए । नेपाल प्रहरीले २०८० सालमा गरेको अनुसन्धानमा उनी वनएक्स बेटका मुख्य एजेन्टका रूपमा खुलेका थिए । त्यतिबेला प्रहरीले उनले वनएक्स बेटमार्फत करिब ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको र विभिन्न व्यक्तिका नाममा बैंक खाता खोलेर सट्टेबाजीको रकम परिचालन गरेको जनाएको थियो ।
अनुसन्धानका क्रममा खड्काले अन्य व्यक्तिका नागरिकता प्रयोग गरी बैंक खाता खोलेको विषयसमेत बाहिर आएको थियो । भारतमा भने उनको पछिल्लो पक्राउ भारतीय राहदानी र पहिचानसम्बन्धी कसुरमा भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले उनको पुरानो वित्तीय कारोबार र अनलाइन सट्टेबाजीसँग सम्बन्धित पक्षमा समेत अनुसन्धान गरिरहेका छन् ।






