


धनगढी । एउटी युवती..जसले सामाजिक सञ्जालमा प्रेम भेटिन्। त्यही प्रेमलाई जीवनको सहारा ठानिन्। अनि त्यही व्यक्तिसँग विवाह गरेर नयाँ संसार बसाउने सपना देखिन्। तर, विवाह गरेको एक वर्ष नपुग्दै उनको जीवनले यस्तो मोड लियो, जहाँबाट उनी कहिल्यै फर्किन सकिनन्। यो कथा हो कैलालीको गोदावरी नगरपालिका–५ की १९ वर्षीया निलम विष्टको।


सामाजिक सञ्जाल फेसबुकमार्फत सुरु भएको निलम र गोदावरीकै आयुष कटुवालको प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो। दुवैले सँगै जीवन बिताउने वाचा गरेका थिए। तर, उनीहरूको सम्बन्ध सधैँ उस्तै रहन सकेन। स्रोतका अनुसार, एक साथीले आयुषलाई उनकी श्रीमती आफ्नो पूर्वप्रेमिका भएको भन्दै जिस्क्याएपछि श्रीमान–श्रीमतीबीच खटपट सुरु भएको थियो।






त्यही विषयले उनीहरूको सम्बन्धमा खटपट चुलियो । श्रीमानले लगातार तनाव दिन थालेपछि गत सोमबार घरमा कोही नभएको समयमा निलमले विषादी सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । उपचारका लागि उनलाई सुरुमा अत्तरियास्थित पदमा अस्पताल लगियो। पछि थप उपचारका लागि धनगढीको सिपी अस्पताल रेफर गरियो। तर, उनलाई बचाउन सकिएन।

अस्ती मात्र १९ वर्षकै उमेरमा निलमको जीवन समाप्त भयो। विवाहपछि श्रीमानसँग सम्बन्धमा आएको खटपटका कारण उनले यो कदम चालेको पाइएको प्रहरीले जनाएको छ । तर, उनको अन्तिम बिदाइको क्षण झनै पीडादायी बनेको छ । प्रहरी स्रोतकाअनुसार निलमको दाहसंस्कार गर्ने मान्छे समेत भेटिएनन् ।विवाह गरिसकेकी छोरीको माइती पक्षले अन्त्येष्टि गर्ने चलन छैन् ।
सोही कारण माइती पनि तयार नभएको प्रहरी बताउँछ । श्रीमान्को परिवारबाट समेत अन्त्येष्टिका लागि कोही अघि सर्न तयार नभएको बताइएको छ । जुन घरमा उनले नयाँ जीवनको सपना देखेकी थिइन्, त्यही सम्बन्धको अन्त्यपछि उनको पार्थिव शरीरको अन्तिम संस्कार कसले गर्ने भन्ने अवस्था आयो। अन्ततः इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा निलमको अन्त्येष्टि गरियो। प्रहरी हिरासतमा रहेका उनका श्रीमान् आयुषले गोदावरीस्थित आर्यघाटमा दागबत्ती दिएर शुक्रबार श्रीमतीको अन्तिम संस्कार गरेका थिए।
श्रीमती निलमको मृत्युको घटनामा आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले आयुषलाई पक्राउ गरेको छ। उनीमाथि आत्माहत्या दुरुत्साहन मुद्दामा अनुसनधान भइरहेको छ । तर, यो घटनाले एउटा गम्भीर प्रश्न भने छाडेको छ। प्रेम गर्नु, विवाह गर्नु र सम्बन्धमा समस्या आउनु जीवनका विभिन्न मोड हुन्। सम्बन्धमा समस्या आउँदैमा जीवनका सबै ढोका बन्द हुँदैनन्। संवाद, सहयोग र समयमै साथ पाउँदा कठिन परिस्थितिबाट बाहिर निस्कने बाटो भेटिन सक्छ। कसैको जीवनमा देखिने पीडालाई समयमै बुझ्न सकियो भने सायद एउटा जीवन जोगाउन सकिन्छ। निलमको अन्तिम बिदाइले एउटा प्रश्न छाडेको छ-सम्बन्ध टुट्दा साथ दिने हातहरू किन हराउँछन्न ?






