


काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो ।


उता फिस्टेल एयरको नाइन एन एजेआर हेलिकप्टरभने गोरक्षेपबाट फेरिचे पुगेको थियो । दुई हेलिकप्टर नेपाली समय अनुसार ८ बजेर ११ मिनेटमा एक आपसमा ठोक्किएका थिए ।






दुवै हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ भने दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा फिस्टेल हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी हेलिकप्टरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्याण्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन् ।
घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । प्रहरीका अनुसार डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।






