


धनगढी। बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।



उनकाअनुसार दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय पे्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् ।





केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते छन् । उनीहरुलाई स्थानीयले उद्दार गरि अस्पताल ल्याइरहेका छन् । घटनास्थल पुग्न प्रहरीलाई भने तीन घण्टाको समय लाग्ने डीएसपी जोराले बताए । अहिले प्रहरी त्यसतर्फ हिडिसकेको छ ।

प्रहरीका अनुसार चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






