


बिचौलिया इनम सापकोटासँग जोडिएको अडियो सार्वजनिक भएपछि उठेका प्रश्नहरूको छानबिन गर्न विपक्षी दलहरूले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले समितिको बैठक बोलाउन लिखित रूपमा माग गरेका हुन् । अन्य विपक्षी दलहरूले पनि अनौपचारिक रूपमा बैठकको माग गरेका छन् ।





समिति सभापति हरि ढकाललाई सम्बोधन गर्दै शाहीले पठाएको पत्रमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सरकारबीच देखिएको तिक्तता, पत्रकार पक्राउ, राज्यशक्तिको दुरुपयोग तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिएको विषय उठाइएको छ ।


त्यस्तै, नेकपाका प्रमुख सचेतक दुलालले प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटाको अडियो कसरी सार्वजनिक भयो, प्रधानमन्त्री र प्रमुख सल्लाहकारका सामाजिक सञ्जालका अभिव्यक्तिको आधार के हो तथा पत्रकार पक्राउ र रिहाइका घटनामा सरकारको जवाफदेहिता कहाँ छ भन्ने प्रश्न उठाएका छन् ।
दुवै नेताले यी विषयमा गम्भीर छलफल र छानबिन गर्न समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् ।
बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य उपस्थित गराई सम्बन्धित घटनाबारे जवाफ माग्नुपर्ने उनीहरूको माग छ ।
प्रमुख सचेतक दुलालले समितिका सभापतिसँग यस विषयमा कुराकानी भएको र बैठक बोलाउने मागलाई सभापतिले सकारात्मक रूपमा लिएको जानकारी दिएका छन् ।






