press
po

गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, लाइन छिचोल्न घण्टौँ लाग्दै

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । तिहार मनाउन भारतका विभिन्न सहरबाट स्वदेश फर्किने नेपालीको चाप बढेसँगै कैलालीस्थित गौरीफन्टा नाकामा यात्रुको घुइँचो लागेको छ । चाडपर्वको उल्लास बोकेर घर फर्किएका नेपालीले सीमा क्षेत्रमा भने सास्ती खेप्नुपरेको छ । विशेषगरी भारतीय सुरक्षाकर्मीको चेकजाँचमा लामो समय बिताउनुपर्दा यात्रुहरू घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।

sanjiwan
Nisharg

धनगढी उपमहानगरपालिका–७ देवहरियाका नरेन्द्र नारायण मगर शुक्रबार बिहान ८ बजे गौरीफन्टा नाका पुगेका थिए । मुम्बईबाट तिहार मनाउन घर फर्किएका उनी दिउँसो १ बज्न लाग्दासमेत सुरक्षा जाँचको लाइनबाट बाहिरिन सकेका थिएनन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

झन्डै पाँच घण्टा पर्खिएर भारतीय सुरक्षाकर्मीको जाँच सकेका मगर त्यसपछि नेपालतर्फको चेकजाँचको पालो कुरिरहेका थिए । लामो यात्रापछि भोकभोकै झोलाझिम्टीसहित लाइनमा बस्नुपर्दा उनी शारीरिक रूपमा थकित मात्र थिएनन्, राज्यको व्यवस्थाप्रति आक्रोशितसमेत सुनिए ।

HAMRO DAIRY

‘यो दुई तिहाइको सरकार हिसाबकिताबको संख्यामा मात्रै रहेछ, व्यवहारमा देखिएन । हामी बिहान ८ बजे गौरीफन्टा आइपुगेका हौँ, चेकजाँचका नाममा पाँच घण्टा बिताइसक्यौँ,’ उनले भने, ‘भोकभोकै बस्नुपरेको छ । सरकार बलियो भएको भए त छिटोछरितो व्यवस्था हुनुपर्ने हो नि ।’

मगरले विदेशमा रोजगारी गरेर स्वदेश फर्किने नागरिकका लागि कम्तीमा सीमा नाकामा सहज र व्यवस्थित आवागमनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । ‘हामीजस्ता मध्यम वर्गका नागरिकले स्वदेशमा रोजगारी नपाएर अर्काको देशमा काम गर्नुपरेको छ । त्यहाँबाट आफ्नै घर फर्किँदासमेत यस्तो सास्ती खेप्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘यो नाकालाई व्यवस्थित बनाइदिन र सहजै घर फर्किने वातावरण मिलाइदिन सरकारसँग माग गर्छु । यसरी लावारिस अवस्थामा छाडेर भएन ।’

पुनाबाट तीन दिनको यात्रा पार गर्दै शुक्रबार बिहान गौरीफन्टा आइपुगेकी पवित्रा घर्तीको अनुभव पनि उस्तै छ । उनले भारतीय क्षेत्रमा हुने चेकजाँचमा बढी समय खर्चिनुपरेको बताइन् । नेपालतर्फको जाँचमा खासै समस्या नभए पनि भारतीय पक्षको चेकजाँचमा लामो समय कुर्नुपरेको उनको भनाइ छ ।

Nav

‘तीन दिन लगाएर बिहान मात्रै यहाँ आइपुगेका थियौँ । तर यहाँ पनि चेकजाँचकै नाममा दुई–तीन घण्टा बितिसक्यो,’ उनले भनिन्, ‘नेपालतर्फभन्दा भारततर्फको चेकजाँचमा धेरै झन्झट व्यहोर्नुपरेको छ ।’

भारतबाट फर्किने नेपालीले सीमा क्षेत्रमा सास्ती खेप्नुपरेको गुनासो बढेपछि शुक्रबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाको नेतृत्वमा टोली गौरीफन्टा नाका पुगेको थियो । टोलीले गौरीफन्टास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रमुख विवेक यादव र भारतीय कस्टम प्रमुख अमर उपाध्यायसँग भेट गरी चेकजाँचमा भइरहेको ढिलाइबारे चासो राखेको थियो । साथै, यात्रुको आवागमन सहज बनाउन आवश्यक सहजीकरण गर्न आग्रह गरेको थियो ।

भारतीय एसएसबी प्रमुख यादवले सुरक्षा जाँचका कारण केही ढिलाइ भइरहेको स्वीकार गर्दै सहजीकरणका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष ओझाले बताए ।

‘चाडपर्व मनाउन भारतबाट फर्किने दाजुभाइ तथा दिदीबहिनीले नाकामा सास्ती खेप्नुपरेको विषयमा हामीले भारतीय अधिकारीसँग कुरा गरेका छौँ,’ ओझाले भने, ‘चेकजाँच गर्ने एक्सरे मेसिन एउटै भएकाले समय लाग्ने गरेको बुझियो । यद्यपि, एसएसबीका सुरक्षा प्रमुखले आवागमन सहज बनाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

ओझाका अनुसार गौरीफन्टा नाकामा भारत जाने तथा स्वदेश फर्किने यात्रुका लागि शौचालयको समेत अभाव छ । सीमा क्षेत्रमा यात्रुले भोग्नुपरेको उक्त समस्या समाधानका लागि कैलाली उद्योग वाणिज्य संघले छिट्टै शौचालय निर्माण गर्ने तयारी गरेको उनले जानकारी दिए ।

भारतीय सुरक्षाकर्मीका अनुसार नाकामा एउटा मात्रै एक्सरे मेसिन सञ्चालनमा रहेको र एकै व्यक्तिका धेरै झोला तथा सामान जाँच गर्नुपर्ने भएकाले प्रक्रिया लामो हुने गरेको छ ।

ओझासँगै संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी र सचिव प्रकाशबहादुर चन्द पनि नाकाको अवस्थाबारे बुझ्न पुगेका थिए ।

बिहीबार र शुक्रबार अन्य दिनको तुलनामा भारतबाट तिहार मनाउन स्वदेश फर्किने नेपालीको चाप बढी देखिएको छ । यात्रुहरूका अनुसार नेपालतर्फको सुरक्षा जाँचमा भने तुलनात्मक रूपमा खासै समस्या छैन । तर भारतीय क्षेत्रमा एउटै एक्सरे मेसिनमा निर्भर चेकजाँच प्रक्रियाका कारण घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताले चाडपर्व मनाउन घर फर्किने नेपालीको यात्रा थप कष्टकर बनेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...