

धनगढी । कञ्चनपुर र कैलालीबाट अवैध लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) जस्तो देखिने पदार्थसहित पाँच जना पक्राउ परेका छन्।
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेव खोल्टीपुरबाट १९ ग्राम ६८० मिलिग्राम पदार्थसहित भीमदत्त नगरपालिका–१८ का २५ वर्षीय नरेन्द्र डगौरा र २५ वर्षीय डेभिट चौधरी पक्राउ परेका छन्। म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सोमबार दिउँसो चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त पदार्थ फेला पारेको हो।
त्यस्तै, सोही गाउँपालिकाको चानदेव–बेलडाँडी सडकखण्डबाट ६ ग्राम ६८० मिलिग्राम पदार्थसहित कृष्णपुर नगरपालिका–२ बंकका २६ वर्षीय दीपक कठायत र २३ वर्षीया दिपश्री पाल पक्राउ परेका छन्। उनीहरू बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार थिए।
यस्तै, कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट ९२० मिलिग्राम पदार्थसहित लम्कीचुहा नगरपालिका–५ का ३२ वर्षीय प्रकाश शाही पक्राउ परेका छन्। बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले सोमबार दिउँसो चेकजाँचका क्रममा पक्राउ गरेको हो।
तीनवटै घटनामा इलाका प्रहरी कार्यालय बेलौरी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी तथा प्रहरी चौकी जनकपुरको संयुक्त टोलीले कारबाही गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

