जनकपुर–अयोध्या रेल सेवा मंसिर ७ गते उद्घाटन गर्ने तयारी

cp new add
Nisharg hospital
Dhangadhi

काठमाण्डौ । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुने भएको छ। भारतीय रेल्वेले जनकपुरधामदेखि अयोध्यासम्म ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो।

रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अघि बढाइएको यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रस्तावित तालिकाअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार रेल प्रस्थान गर्नेछ भने भारतको अयोध्या क्यान्टबाट प्रत्येक सोमबार जनकपुरधामका लागि रेल छुट्नेछ। रेल सेवा सातामा एक दिन सञ्चालन गर्ने योजना रहेको छ।

भारतका यी १० स्थानमा रोकिने

जनकपुरधामदेखि अयोध्यासम्मको यात्राका क्रममा रेल भारतका बिहार र उत्तर प्रदेशका विभिन्न १० स्थानमा रोकिनेछ।

रेलका प्रस्तावित व्यावसायिक ठहरावहरू यसप्रकार छन् :

१. जयनगर
२. मधुबनी
३. शीशो
४. सीतामढी
५. रक्सौल
६. नरकटियागञ्ज
७. गोरखपुर
८. बस्ती
९. मनकापुर
१०.अयोध्या धाम

यीमध्ये बिहारका ६ र उत्तर प्रदेशका ४ स्थानमा रेल रोकिनेछ। जनकपुरधाम र अयोध्या क्यान्ट भने अन्तिम गन्तव्य स्टेशनका रूपमा रहनेछन्।

मंसिर ७ गतेदेखि सञ्चालनको तयारी: भारतीय सञ्चारमाध्यमहरूका अनुसार आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्न सक्ने चर्चा पनि सार्वजनिक भएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणसँगै रेल सेवाको उद्घाटनलाई जोडेर हेरिएको छ। तर, रेल सेवाको व्यावसायिक सञ्चालन मिति, विस्तृत समयतालिका र यात्रु भाडादरबारे भारतीय रेल मन्त्रालयले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

धार्मिक पर्यटन र व्यापारमा समेत लाभ पुग्ने अपेक्षा

जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् श्रीरामको जन्मस्थलका रूपमा चिनिन्छ। यी दुई ऐतिहासिक तथा धार्मिक सहरलाई सिधा रेल सेवाले जोड्दा नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस सेवाबाट जनकपुरधाम आउने भारतीय तीर्थयात्री तथा अयोध्या जाने नेपाली यात्रुलाई सहज हुनेछ। साथै शिक्षा, व्यापार, पारिवारिक भेटघाट तथा सीमापार आवागमन गर्ने यात्रुले समेत लाभ लिन सक्नेछन्।

रेलमार्गमा पर्ने बिहार र उत्तर प्रदेशका स्थानीय बजार, होटल व्यवसाय, पर्यटन क्षेत्र तथा परम्परागत हस्तकलासँग सम्बन्धित व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्ने यो योजना कार्यान्वयनमा आएमा नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धमा नयाँ अध्याय थपिने विश्वास गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...