

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको बताएका छन् ।
उनका अनुसार कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध, व्यापार, पर्यटन, ऊर्जा, सीमा व्यवस्थापन, हवाई सम्पर्क, जलवायु परिवर्तन र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा सरकारलाई सुझाव दिने तयारी गरेको थियो ।
यसैका लागि कांग्रेसले विषयविज्ञहरूको सहभागितामा आन्तरिक छलफलसमेत गरेको थियो । तर सरकारले प्रमुख प्रतिपक्षीलगायत दल र विज्ञसँग परामर्श गर्न आवश्यक नठानेको शर्माको आरोप छ ।
प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको भन्दै उनले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी आवश्यक रहेको बताएका छन् ।
कांग्रेसले परामर्श नगरिएको विषयलाई प्रधानमन्त्रीको भ्रमणको सफलतासँग जोडेर नहेर्न पनि स्पष्ट पारेको छ । सरकारसँग विभिन्न विषयमा असहमति भए पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता कायम रहेको शर्माले बताएका छन् ।
कांग्रेसले भ्रमण क्षणिक लोकप्रियता र प्रचारमा सीमित नभई विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान र दीर्घकालीन सहकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
भ्रमणको सफलता औपचारिक स्वागत वा संयुक्त वक्तव्यबाट नभई त्यसले नेपाल र नेपाली नागरिकलाई दिने ठोस उपलब्धिबाट मापन हुनुपर्ने कांग्रेसको धारणा छ ।

