

मिल्वाकी, अमेरिका। मिल्वाकी नेपाली परिवारले नेपालको भोटेकोशी तथा रसुवा क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ संकलन गरेको ५३ हजार ८७६ अमेरिकी डलर ५० सेन्ट (नेपाली रुपैयाँ करिब ८० लाख ७१ हजार) प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
संस्थाले उक्त सहयोग रकम सन् २०२६ नोभेम्बर १९ तारिखका दिन नेपालको प्रधानमन्त्री राहत कोषको हिमालयन बैंक, काठमाडौंस्थित खातामा स्थानान्तरण गरेको जनाएको छ।
सहयोग रकम संकलन अभियानका क्रममा मिल्वाकी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, भारतीय नागरिक, अमेरिकी नागरिक तथा अन्य सहयोगी दाताहरूले उदारतापूर्वक आर्थिक सहयोग गरेका थिए। त्यसैगरी, नेपालमा आएको प्राकृतिक विपत्तिमा सहयोग गर्ने उद्देश्यले विभिन्न संघसंस्थाहरूले समेत आर्थिक योगदान गरेका थिए। उक्त जानकारी संस्थाका सदस्य नरेन्द्र रेग्मीले दिएका हुन्।
यस सहयोग अभियानलाई सफल बनाउन आफ्नो व्यस्त समयका बाबजुद निरन्तर खटिनुहुने मिल्वाकी नेपाली परिवारका वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, साधारण सदस्यहरू, पूर्वकार्यसमितिका सदस्यहरू, सल्लाहकारहरू तथा सम्पूर्ण सहयोगी दाताहरूप्रति संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
संस्थाले आगामी दिनहरूमा पनि यस्तै मानवीय तथा सामाजिक कार्यमा सबैको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरेको जनाएको छ।

