

टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि दुई महिनासम्म स्थान बुक भइसकेको जानकारी पाएपछि कार्यक्रम सार्नुपरेको मोर्चाले जनाएको छ।
जनमत पार्टीका महासचिव सञ्जय यादवका अनुसार अब माइतीघरबाट आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ। त्यसका लागि मोर्चाले मङ्सिर १५ गते बैठक बोलाएको छ। बैठकले घोषणा कार्यक्रमको मिति तय गर्नेछ।
मोर्चाले यसअघि विभिन्न ठूला सहरमा सभा तथा सम्मेलन गर्दै आएको छ। जनकपुर र विराटनगरमा कार्यक्रम सम्पन्न गरेको मोर्चाले आज धरानमा कार्यक्रम आयोजना गरेको छ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपालसहित नौ दल आबद्ध छन्।
संविधानले सुनिश्चित गरेका समानता, समावेशिता र सामाजिक न्यायका अधिकार व्यवहारमा कार्यान्वयन नभएको दाबी गर्दै मोर्चाले मधेसी, आदिवासी जनजाति, दलित तथा सीमान्तकृत समुदायको अधिकारका लागि आन्दोलन गर्न लागेको जनाएको छ।

