

धनगढी । धनगढीमा नो पार्किङमा रोकिएको बसमाथि कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई २०० रुपैयाँ घुस दिन खोज्ने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार खप्तड यातायातको सुपप्र ०१००१ ख ३८०८ नम्बरको बस चालक मनिष खड्कालाई नियन्त्रणमा लिइएको हो ।
ड्युटीमा खटिएका प्रहरी जवान राजेन्द्र चन्दले नो पार्किङमा रोकिएको बसमाथि कारबाही गर्न खोज्दा चालक खड्काले ब्लुबुकभित्र २०० रुपैयाँ राखेर दिन खोजेका थिए ।
घटनापछि चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

