ट्राफिक प्रहरीले दुःख दिएको भन्दै धनगढीमा विद्युतीय रिक्सा चालक आन्दोलित

Nisharg hospital

१५ साउन, धनगढी । ट्राफिक प्रहरीले दुःख दिएको भन्दै सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेपछि उनीहरु आन्दोलित भएका छन् ।

धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लामबद्ध पारेर चालकहरुले प्रहरीको ज्यादतीविरुद्ध आन्दोलन थालेका हुन् ।  बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरुले एलएन चोकमा मौन प्रर्दशन समेत गरेका छन् ।

धनगढी उपमहानगरपालिका कार्यालयको मूल गेटमा रोकिएका विद्युतीय रिक्साहरु

यातायात व्यवस्था कार्यालयले अटो रिक्सा चालक अनुमती पत्रको आवेदन नखोल्ने तर लाइसेन्स नभएको भन्दै ट्राफिक प्रहरीले दैनिकजसो पाँच सय रुपैयाँदेखि १५ सय रुपैयाँ जरिवाना गराउन थालेपछि आन्दोलन गर्न बाध्य भएको धनगढीको बोराडाँडीका अटो रिक्सा चालक देवराज अवस्थीले बताए ।

‘ट्राफिक प्रहरीले लाइसेन्स खोइ भन्दै दैनिक जरिवान काटिरहेको छ । यातायात कार्यालयमा जादा लाइसेन्स खोलेको छैन भन्छन्,’ अवस्थीले भने, ‘अब हामीले के गर्ने ? कहिले कही त दिनमा दुई पटकसम्म जरिवाना तिर्नुपरिरहेको छ ।’ ट्राफिक प्रहरीले सास्ती दिन थालेपछि अटो चलाएर दैनिक आम्दानी हुने पाँच सय÷हजार रुपैयाँ पनि जरिवाना तिर्न ठीक्क हुने गरेको अर्का सवारी चालक राजु तिरुवाले गुनासो गरे ।

पछिल्लो एक हप्तामा दैनिक पाँच सयका दरले तीन हजार पाँच सय जरिवाना तिरिसकेको बताउने धनगढीकै अर्का अटो रिक्सा चालक शेरबहादुर सिंहले लाइसेन्सको फारम भरेपनि परीक्षा नहुँदा हैरानी खेप्नुपरेको सुनाए । ‘आज बिहान मात्र पाँच सय रुपैयाँ जरिवाना तिरायो । लाइसेन्सको आवेदन फारम भरेको छु परीक्षा कहिले हुने हो थाहा छैन,’ सिंहले भने ।

विद्युतीय रिक्सा चालक संघका अध्यक्ष मिनराज जोशीले धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने, शिघ्र चालक अनुमती पत्र (लाइसेन्स) वितरणको प्रक्रियामा जानुपर्ने माग राख्दै आन्दोलन गर्न परेको बताउँछन् ।

उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालयले माग सम्बोधन गर्न तयार नभएर अनिश्चितकालीन आन्दोलनका कार्यक्रम गर्दै सेवा ठप्प पार्ने चेतावनी जोशीले दिए ।  विद्युतीय रिक्सा चालक संघले उठाएका मागबारे अहिले धनगढी उपमहानगरपालिका कार्यालयमा छलफल भइरहेको छ ।

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...