१८ साउन, धनगढी । कञ्चनपुरमा लगातारको वर्षापछि आएको बाढी बस्तीमा पसेको छ । जिल्लाको वेदकोट नगरपालिका–४ को सार्की टोलमा चौधर नदीको बाढीमा बस्तीमा पसेपछि प्रभावितहरुको उद्दारको काम थालिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले बाढीको उच्च जोखिममा रहेका कच्ची घरहरु सार्ने काम भइरहेको जनाएको छ । स्थानीय कृष्ण भुलको घर सुरक्षित स्थानमा सारिएको बताउँदै शैलेश्वरी गणका प्रमुख प्रहरी उपरीक्षक(एसपी) अमरबहादुर ऐरले नदीभन्दा करीब २५ मिटरको दुरीमा रहेका अन्य चार घर पनि सार्ने काम भइरहेको जानकारी दिए ।
नदीमा पानीको बहाब बढि भएकाले जमिन कटान गरेर बस्तीमा नदी पसिररहेको सशस्त्र प्रहरीले जनाएको छ ।