

३ पुष, धनगढी । धनगढीमा आज आइतबार नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ।
आइतबारको प्रस्तुतीका लागि धनगढी रंगशालामा मञ्च बनाउने काम सकिएको छ । कार्यक्रम पुस ३ गते आइतबार बेलुकी ४ बजे धनगढी रंगशाला मैदानमा सुरु हुनेछ ।
धनगढीमा यसअघि पनि चारपटक उपस्थित भइसकेको नेपथ्यले यो रंगशाला मैदानमा भने आफूलाई दोश्रो पटक प्रस्तुत गर्न लागेको हो । मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली शुक्रबार दिउँसो नै धनगढी आइपुगेको छ ।
यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन र नेपालगंजमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्ता माझ लोकप्रिय लोक रक संगीत टोली रहिआएको छ, यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत धनगढीमा छैठौं प्रस्तुती दिन लागिएको छ ।
यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै धनगढीमा मानवसेवा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरि यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ । नेपथ्यले पहिलोपटक ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत सन् २००५ मा पहिलोपटक आफूलाई धनगढीमा प्रस्तुत गरेको थियो ।
त्यसको लगत्तै अर्को वर्ष २००६ मा ‘शान्तिको लागि शिक्षा’ अभियानमा आफूलाई यहाँ प्रस्तुत ग¥यो । त्यसको ६ वर्षपछि फेरि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै नेपथ्य यहाँ प्रस्तुत भएको थियो। पछिल्लोपटक भने चार वर्ष अघि सन् २०१८ मा नेपथ्यले अहिले प्रस्तुत हुनलागेको रंगशाला मैदानमै कन्सर्ट गरेको थियो ।

