२४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको सेती प्रादेशिक अस्पताललाई दुई सय शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई दुई सय शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
‘आज बसेको क्याबिनेटको बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शैयामा सञ्चालन गर्ने र तीन शैयामा स्तरोन्नती गर्न संघीय सरकारलाई लेखी पठाउने निर्णय गरेको छ,’ सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले भने । प्रादेशिक अस्पताललाई दुई सय शैयामा सञ्चालन गर्न आवश्यक व्यवस्थापनको काम समेत पूरा भइसकेको दाबी समेत मन्त्री बोहराको छ ।
बि.स. १९९७ सालमा जिल्ला अस्पताल, २०४० सालमा सेती अञ्चल अस्पताल हुँदै प्रादेशिक बनेको अस्पताल अहिले नेपाल सरकारबाट स्वीकृत ५० शैया र ७५ शैया अस्पतालको आन्तरिक स्रोतबाट गरेर १२५ शैयामा सञ्चालन भइरहेको छ ।