भारतको मणिपुर राज्यमा जारी जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

२४ वैशाख, काठमाडौं । भारतको पूर्वोतर राज्य मणिपुरमा जारी जातीय हिंसामा परी मृत्यु ५२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको छ । र, हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको जनाइएको छ ।

भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसको आइतबार प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले शनिबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री सिंहले क्षतिको यकिन विवरण दिन सकेनन् । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ ।

हिंसा सुरु भएपछि शनिबार पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक झडपका सामग्रीले परिस्थितिलाई थप जटिल बनाएपछि मणिपुरमा मोबाइल इन्टरनेट सेवा आजसम्मका लागि बन्द गरिएको छ । जसका कारण मणिपुरबाट निर्वाध सूचना प्रवाह हुन सकेको छैन र पछिल्लो विवरण सार्वजनिक हुन सकेको छैन ।

साथै परिस्थिति नियन्त्रण बाहिर गएपछि आसम राइफल्स र भारतीय सेना परिचालन गरिएको छ । कर्फ्यु जारी भएका क्षेत्रमा सेना र प्रहरीको संयुक्त गस्ती चलिरहेको छ । मणिपुर राज्यको राजधानी इम्फालबाट प्रकाशित हुने स्थानीय सञ्चार माध्यमहरूका अनुसार राजधानी र चुराचन्दपुर जिल्लाका अस्पतालमा ५० जनाभन्दा बढी मृतकका शवहरू राखिएका छन् ।

चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा १६ शव, इम्फाल पूर्वी जिल्लाको जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा १५ शव र इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रीय अस्पताल रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा २३ जनाको शव राखिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक भए पनि यो संख्या अझैँ ठूलो हुनसक्ने बताइएको छ । बुधबार मणिपुर उच्च अदालतले मैतेई समुदायले अनुसूचित जनजाती वर्गमा आफूलाई पनि राख्न माग गर्दै दिएको रिटमा सुनुवाई गर्दै राज्य र केन्द्र सरकारलाई पुनरावलोकनको आदेश दिएको थियो ।

त्यसको विरोधमा पहिल्यैदेखि यो सुविधा पाउँदै आएको कुकी समुदायको विद्यार्थी संगठनले विरोध र्‍याली निकालेपछि सुरु भएको झडप हिंसामा परिणत भएको थियो ।जनसंख्याको ५२ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको मैतेई समुदायले अनुसूचित जनजातीको हैसियत प्राप्त गरे आफ्नो पाइरहेको अधिकारमा कटौती हुने भन्दै कुकी समुदायले त्यसको विरोध गरेको हो ।

मणिपुरको मैदानी भागमा रहेको मैतेई र पहाडी इलाकामा रहेको कुकी जनजाती समुदायबीच धेरै अघिदेखि यस विषयमा दरार उत्पन्न भइरहेको छ । राज्य र केन्द्र सरकारले यसको उचित व्यवस्थापन गर्न सकेका छैनन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...