


केसब बिस्ट, जापान । कुरुमे पल्टन्सको आयोजनामा दोस्रो संस्करणको कुरुमे कप क्रिकेट प्रतियोगिता यही असार २० र २१ गते जापानको ओगोरी र तोसुस्थित दुई खेल मैदानमा सम्पन्न हुने भएको छ।
प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र भाईचारा प्रवर्दन गर्ने उद्देश्यले क्रियाशील कुरुमे पल्टन्सले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। आयोजकका अनुसार उद्घाटन खेल तोसु खेल मैदानमा बिहान ८ बजे सुरु हुनेछ।
तिन वर्षअघि स्थापना भएको कुरुमे पल्टन्सले यसअघि पनि सफलतापूर्वक पहिलो संस्करण सम्पन्न गरिसकेको छ। यस पटक प्रतियोगितामा आयोजकसहित १० वटा टिमको सहभागिता रहनेछ। टिम दर्ताको अन्तिम मिति असार ७ गतेसम्म तोकिएको थियो।
प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५५५ येन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ७५ हजार ५५५ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, सिरिजको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ।
कुरुमे एकता समाज लगायत विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोग तथा समर्थन रहेको प्रतियोगितालाई सफल बनाउन सबै पक्ष जुटिरहेको आयोजक टिमका कप्तान प्रबिन बीकेले जानकारी दिए। खेल तालिका र टाइ-शिट केही दिनमै सार्वजनिक गरिने जनाइएको छ।
खेलप्रेमी सम्पूर्ण नेपालीहरूलाई प्रतियोगिता स्थलमा उपस्थित भई रमाइलोका साथ खेलको आनन्द लिन समेत आयोजक टिमका सदस्य दिपेन सिंहले आग्रह गरेका छन्।

