

काठमाडौँ । साउन महिना सुरु हुनै लाग्दा काठमाडौँ उपत्यकाको न्युरोड र इन्द्रचोक क्षेत्रका पोते बजारहरूमा महिलाहरूको चहलपहल बढेको छ।
हरित महिनाको आगमनसँगै पोते, चुरा, मेहेन्दी र हरिया पहिरनहरू किनमेल गर्न महिलाहरूको भीड देखिन थालेको हो।साउन महिनामा हरियो, पहेँलो र रातो रङका पोते र चुरा लगाउने चलन छ। जुन महिना बिहीबारदेखि सुरु हुँदैछ ।
धार्मिक विश्वास अनुसार, हरियो रंगलाई सकारात्मक सोच, ऊर्जा, शीतलता र शान्तिको प्रतीक मानिन्छ। हरियो रंगले प्राकृतिक सौन्दर्यसँग पनि गहिरो सम्बन्ध राख्ने भएकाले महिलाहरू यस महिनामा विशेषरूपमा यस रंगप्रति आकर्षित हुने गर्छन्।
विवाहित महिलाहरूका लागि रातो रंगलाई सौभाग्य र खुशीको प्रतीक मानिन्छ भने हरियो रंगले पारिवारिक समृद्धि र सन्तुलन ल्याउने विश्वास गरिन्छ। साउन महिनामा विवाहित मात्र नभई अविवाहित महिलाहरूले पनि हरियो चुरा, पोते र मेहेन्दी लगाउने, हरियो रंगको पहिरन धारण गर्ने परम्परा छ।
हिन्दू धार्मिक मान्यताअनुसार, साउनमा हरियो शृङ्गार गर्दा बुध ग्रह प्रसन्न भई घर–परिवारमा सुख, समृद्धि र शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। यस महिनाभर महिलाहरू व्रत बस्ने, माछा–मासु, लसुन–प्याज नखाने कतिको परम्परा पनि छ ।

