

काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यानुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको छ ।
अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका निम्ति आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नागरिक एपमार्फतै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको र एक हप्ताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने जानकारी दिए ।
यही चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’अन्तर्गत बुँदा नम्बर–३५ मा यो विषय उल्लेख थियो । उक्त बुँदा कार्यान्वयनका निम्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमासहितको कार्यायोजना तयार पारी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्रै काम सकाउन भनेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न निर्देशन दिएका थिए ।
मन्त्रीस्तरीय निर्देशनपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी तथा प्राविधिक निकायसँग समन्वय सुरु गरिसकेको छ । सोहीक्रममा नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी व्यावसायिक इन्जिनियरको प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने गरी प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक साहले जानकारी दिए ।
नयाँ प्रणाली कार्यान्वयनमा आएपछि नागरिक एपमार्फतै विभिन्न महत्त्वपूर्ण सेवा प्राप्त गर्न सकिनेछ । यसअन्तर्गत लोकसेवा आयोगका परीक्षार्थीले प्रवेशपत्र, वैदेशिक अध्ययनका निम्ति आवश्यक एनओसी तथा निजामती कर्मचारीले आफ्नो व्यक्तिगत विवरण नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन् ।
यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) प्राप्त गर्ने सुविधा सञ्चालनमा आइसकेको छ । योसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको योजना थप सशक्त हुने अपेक्षा गरिएको छ ।

