

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीच सडक सुरक्षा, सहरी सुरक्षा तथा समग्र सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहकार्य थप सुदृढ गर्ने सहमति भएको छ। यसै सन्दर्भमा कार्यवाहक मेयर सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटघाट तथा छलफल भएको महानगरले जनाएको छ।
भेटका क्रममा डंगोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण तथा उपयोग प्रवर्द्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन सुधार तथा ‘सडक मानवमुक्त काठमाडौं’ अभियानलगायतका क्षेत्रमा नेपाल प्रहरीसँग घनिष्ठ सहकार्य गर्न चाहेको बताइन्। उनले महानगर प्रहरी बललाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरीको सहयोग आवश्यक रहेको पनि उल्लेख गरिन्।

प्रहरी महानिरीक्षक कार्कीले महानगरलाई आवश्यक सुरक्षा सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै उपत्यका प्रहरी कार्यालयमार्फत समन्वयलाई थप व्यवस्थित गरिने बताए। यसका लागि फोकल पर्सनसमेत तोकिएको उनले जानकारी दिए।
छलफलमा लागुऔषध दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, ट्राफिक संकेत तथा व्यवस्थापन, रात्रि र बिहानी बस सेवाको सुरक्षा, तथा सडक मानवमुक्त अभियानअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूमा नेपाल प्रहरीको सक्रिय सहभागिताजस्ता विषयमा केन्द्रित बहस भएको थियो।
उक्त छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगरका अन्य अधिकारीहरू तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको समेत उपस्थिति रहेको थियो।

