

डडेल्धुरामा झाडापखालाले एक बालकको मृत्यु भएको छ । भित्री मधेश क्षेत्र परशुराम नगरपालिका– २ का सात वर्षीय बालक युवराज बुढामगरको मृत्यु भएको हो ।
अत्यधिक पखला र वान्ता लागेपछि उनलाई उपचारका लागि जोगबुडा प्रादेशिक अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार पखाला लागेका बुढामगरकै परिवारका अन्य तीन जनालाई अस्पतालमा पुगाइएको थियो । हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताउँदै घिमिरेले फूड पोइजनको आशंका गरिएका कारण उनीहरुलाई उपचारका लागि धनगढी रेफर गरिएको जानकारी दिए ।
मृतककी आमा मञ्जु बुढामगरलाई पनि धनगढी रेफर गरिएको छ । उनमा अरु समस्या नदेखिए पनि छोराको मृत्युपछि विक्षिप्त भएर बेहोस भएका कारण उपचारका लागि धनगढी रेफर गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी घिमिरेले बताए ।

