

यातायात व्यवस्था कार्यालय धनगढीले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य पुनः सुरु गरेको छ। विभागबाट लाइसेन्स प्रिन्ट भई आएपछि बुधबारदेखि वितरण थालिएको हो।
वितरण सुरु भएसँगै यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीको भीडभाड देखिएको छ। लामो समयदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीहरू बिहानै लाइसेन्स लिन यातायात कार्यालय पुगेर लाइनमा पालो कुर्दै उभिएका छन् । पहिलो दिन भएका भीडभाड बढेको छ।
२०७८ साल पुष १७ गतेदेखि २०८३ साल बैशाख ७ गतेसम्म नयाँ, नवीकरण तथा प्रतिलिपिका लागि आवेदन दिएका करिब ३१ हजार ९ सयभन्दा बढी सेवाग्राहीका लाइसेन्स अहिले वितरणका लागि उपलब्ध गराइएको हो।
लामो प्रतीक्षापछि स्मार्ट कार्ड लाइसेन्स प्राप्त गर्दा सेवाग्राहीहरू खुशी देखिएका छन्। दुई वर्षपछि लाइसेन्स पाएका ज्ञानेन्द्र बहादुर बोहराले भने, “पहिले पर्जि मात्र थियो, अहिले स्मार्ट कार्ड पाउँदा निकै खुशी लागेको छ।”
कार्यालयले राजस्व बुझाएको भौचर वा निस्सासहित उपस्थित भई आफ्नो लाइसेन्स लिन सेवाग्राहीलाई आग्रह गरेको छ।

