

धनगढी । धनगढीमा होटल खोलेर अनैतिक धन्दा गराउने ६ होटलका सञ्चालकविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।
शुक्रबार अनैतिक कार्य गराउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले धनगढी ६ वटा होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका मध्ये होटलका कर्मचारी र ग्राहकलाई छाडिएको छ भने सञ्चालक सबैलाई मानव बेचबिखन तथा अभद्र व्यवहारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले किटानी जाहेरी परेका होटल सञ्चालकविरुद्ध मानव बेचबिखन र नपरेकाको हकमा तत्काललाई अभद्र व्यवहार मुद्दा चलाइएको बताए ।
अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलमा छापा हानिएको थियो । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा अनैतिक कार्य गर्न प्रेरित गराएको अभियोगमा १७ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले छापा हानेका ब्ल्याक स्टोन कटेजबाट सात जना, सम्झना होटलबाट चार जना, ए।एम एण्ड ए होटलबाट पाँच जना, प्रिन्स होटलबाट पाँच जना, कर्णाली होटलबाट छ जना र एभरेष्ट होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
यी सबै होटलका सञ्चालकविरुद्ध मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५ होटलका सञ्चालकहरु प्रहरीको नियन्त्रणमा भएपनि ब्ल्याक स्टोन कटेजका सञ्चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

