

चीनले भ्रष्टाचार मुद्दामा दुई पूर्वरक्षामन्त्री ली शाङ्फु र वेई फेङ्हेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार भ्रष्टाचारको आरोपमा दुई पूर्वरक्षामन्त्रीहरूलाई निलम्बित मृत्युदण्डको सजाय सुनाइएको हो ।
एक सैन्य अदालतले बिहीबार वेई फेङ्हे र ली शाङ्फुलाई दुई वर्षको राहतसहित मृत्युदण्डको सजाय सुनाएको रोयटर्स जनाएको छ ।
यसको अर्थ दुई वर्षपछि उनीहरूको मृत्युदण्डलाई सजाय घटाउने वा प्यारोलको सम्भावनाबिना आजीवन कारावासमा परिणत गरिनेछ।
दुवै जनालाई घुसखोरीको आरोपमा दोषी ठहराइएको हो । उनीहरूको सबै व्यक्तिगत सम्पत्ति जफत गरिएको छ ।
ली शाङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, उनी लगभग दुई महिनासम्म सार्वजनिक रूपमा देखिएनन्, जसले व्यापक अड्कलबाजी फैलाएको थियो।
वेई फेङ्हे पनि सैन्य भ्रष्टाचार अनुसन्धानमा थिए । पछि दुवैलाई २०२४ मा चीनको सत्तारूढ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो।
विज्ञहरूका अनुसार, यो कारबाही राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अभियानको एक हिस्सा हो । हालैका वर्षहरूमा चीनको सेना र रक्षाका धेरै वरिष्ठ अधिकारीहरूमाथि मुद्दा चलाइएको छ ।
सीसीटीभी रिपोर्टअनुसार, सेनाको अनुशासन अनुसन्धान एजेन्सीले लीले पार्टी अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको पत्ता लगाएको छ। उनलाई ठूलो मात्रामा घुस लिएको, अरूलाई घुस दिएको र आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।
रिपोर्टमा लीको कार्यले सेनाको हतियार विकास र सैन्य उपकरणको छविलाई गम्भीर रूपमा क्षति पुर्याएको उल्लेख छ।
पूर्वरक्षामन्त्री वेई फेङ्गेलाई घूस लिएको र आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।
चिनियाँ सैन्य अदालतले उनलाई भ्रष्टाचारको दोषी ठहर गरेको छ। अनुसन्धानले वेई फेङ्गेले रक्षा मन्त्रालय र सेनासँग सम्बन्धित निर्णयहरूमा पक्षपातको बदलामा घूस लिएको खुलासा गरेको छ।

