

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा आयोजना गर्ने भएको छ । विशेष महाधिवेशनपछि कांग्रेसले शनिबार र आइतबार प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।
भेलालाई कांग्रेस सभापति गगनकुमार थापा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले भेलाको तयारी लगभग पूरा भएको र नेताहरू आउने क्रम जारी रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेही ले प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिने बताए । साथै स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे पनि छलफल हुने उनले जानकारी दिए ।
‘प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल गर्ने कार्यसूची छ,’ सहमहामन्त्री स्नेहीले भने, ‘पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, सभापति गगनकुमार थापा लगायतले भेलालाई सम्बोधन गर्नुहुनेछ ।’
भेलामा सहभागी हुन उपसभापति शर्मा धनगढी पुगिसकेका छन् भने सभापति थापा शनिबार बिहान धनगढी आउने कार्यक्रम रहेको बताइएको छ । विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा को गृहप्रदेशमा हुन लागेको पहिलो समीक्षा भेलालाई चासोका साथ हेरिएको छ ।
प्रतिनिधि सभा निर्वाचनका क्रममा सभापति थापासहितका नेताहरूले अन्य प्रदेशझैँ सुदूरपश्चिममा पनि चुनावी सभा गर्न खोजेका थिए । तर देउवा पक्षको असहयोगका कारण कार्यक्रम हुन नसकेको बताइन्छ ।

