

धनगढी । नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी सुरु भएको छ । ९ जेठमा हुने चुनावका लागि तीन वटा समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
शुक्रबार अध्यक्षका उम्मेदवार गोपालराज पाठकको समूहले प्यानल घोषणा गरेको छ । घोषणाअनुसार पाठकको समूहमा उपाध्यक्षका उम्मेदवार उत्तम जोशी छन् ।
सदस्यहरुमा कोपिला कुँवर, गणेश बम, जगतराम चौधरी, जयराज जोशी, ठोमनाथ ढकाल(टिएन), भरतराज जोशी,लक्ष्मीराज पन्त उम्मेदवार रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी, सदस्यमा खेमराज पाठक र गणेशप्रसाद उपाध्याय छन् । पाठकको समूहले प्यानल घोषणासँगै चुनावी प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।
अध्यक्षका उम्मेदवार गोपालराज पाठकले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ९ बुँदा अघि सार्दै मत मागिएको छ । पाठक समूहले सुशासन, उत्पादन र डिजिटल अभियानलाई प्राथमिकतामा राखेको छ ।
संस्थागत सुशासन कायम गर्न शून्य सहनशीलताको नीति अपनाउने, उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्ने, निष्क्रिय कर्जा असुलीलाई प्रभावकारी बनाउने र सदस्य हितका कार्यक्रमलाई प्रविधिमैत्री बनाउने जनाएको छ ।
त्यस्तै, नवजीवन खाद्य उद्योग विस्तार, लघुवित्त कार्यक्रम विस्तार, कर्मचारीलाई प्रविधिमैत्री बनाउने तथा अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि समूहले व्यक्त गरेको छ । समूहले सहकारीलाई कारोबार र सुशासनको हिसाबले देशकै उत्कृष्ट संस्थामध्ये एक बनाउने लक्ष्य लिएको जनाएको छ ।
हेर्नुहोस् प्रतिबद्धता पत्र

