

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले मदिरा सेवन गरेर चलाएपछि सरकारी गाडी दुर्घटना भएको खुलेको छ ।
मापसे गरेरेर गाडी चलाएको पाइएपछि प्रहरीले मेयर भट्टलाई जरिवाना तिराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भट्टलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएकोमा पाँच सय रुपैया जरिवाना तिराएको छ भने लापरवाही गरेकोमा थप पाँच सय जरिवाना तिराइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) रेशम आचार्यले मेयर भट्टलाई एक हजार रुपैयाँ जरिवाना गरेर गाडी छाडिएको जानकारी दिए । उनकाअनुसार भट्टले आफन्त मार्फत ट्राफिक प्रहरी कार्यालयमा जरिवाना तिरेपछि कैलाली गाउँ प्रहरी चौकीले नियन्त्रणमा रहेको गाडी कागज गरेर छाडेको छ ।
शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको थियो । अनियन्त्रित गाडी सडकको छेउमा रहेको रेलिङमा ठोक्किएको थियो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि गाडीको अगाडीको भाग भने क्षतिग्रस्त भएको छ । मेयरको गाडी दुर्घटनामा परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले राति मापसे परीषण गर्न नपाएपनि मेयर स्वयंमले मादक पदार्थ सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

