

धनगढी । बैतडी समाज कैलालीको अध्यक्षमा गजेन्द्रवीर चन्द सर्वसम्मत चयन भएका छन् । धनगढीमा शनिबार आयोजित समाजको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट चन्दको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । बाँकी ४ सदस्य कार्यसमितिले मनोनीत गर्ने जनाएको छ ।
समाजका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता तथा समाजका ज्येष्ठ सदस्य धरमसिंह थापाको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको थियो । कार्यक्रममा बैतडीबाट बसाइँसराइ गरी कैलालीमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकराज भट्ट, उपाध्यक्षमा हर्कबहादुर चन्द, महासचिवमा लोकेश भट्ट, सचिवमा वीरबहादुर महरा तथा कोषाध्यक्षमा नवराज पन्त चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा भीमबहादुर चन्द, लोकराज भट्ट, तर्कराज जोशी, जनकराज अवस्थी, विश्वेश्वरसिंह खत्री, आवेश कुमार चन्द, केशवबहादुर चन्द, लक्ष्मी रिजाल केसी, धर्मेन्द्रबहादुर चन्द, लिलाधर शर्मा र चेतनविक्रम चन्द चयन भएका छन् ।
अधिवेशनमा वक्ताहरूले बैतडीबाट कैलालीमा बसोबास गर्ने नागरिकबीच आपसी एकता, सहयोग र सामाजिक सद्भाव कायम गर्न समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका थिए ।
कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नवनिर्वाचित नेतृत्वले समाजलाई अझ सक्रिय, व्यवस्थित र सामाजिक उत्तरदायी संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत जनाएको छ ।

