कैलालीको सत्ती भन्सारमा ट्राली लिलाममा पैँसाको चलखेल, कर्मचारी, रास्वपा र एमालेका नेताको साँठगाँठ!

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको सत्ती भन्सार कार्यालयले आफैंले तोकेको न्यूनतम मूल्यभन्दा निकै कम रकममा ट्याक्टरको ट्राली लिलाम गरेको विषय विवादमा परेको छ। कार्यालयका कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा लिलाम प्रक्रियामा अनियमितता भएको आरोप लागिरहेको छ।

भन्सार कार्यालयले ११ जेठमा विभिन्न ५६ प्रकारका सामान लिलामसम्बन्धी सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाको ५१औँ नम्बरमा २०८० जेठ २९ गते बरामद गरिएको अवैध ट्याक्टर ट्रालीको मूल्य एक लाख ९५ हजार रुपैयाँ कायम गरिएको उल्लेख छ। तर १८ जेठमा भएको लिलाममा सोही ट्राली ९५ हजार ५ सय रुपैयाँमै बिक्री भएको पाइएको छ।

लिलाममार्फत ट्राली खरिद गर्ने व्यक्ति टीकापुर नगरपालिका–९ निवासी चन्द्र धामी रहेको खुलेको छ। धामी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टीकापुर–९ का सभापति समेत हुन्। उनकै ‘सेटिङ’मा करिब एक लाख रुपैयाँ कम मूल्यमा ट्राली लिलाम गरिएको दाबी गरिएको छ।
तर भन्सार कार्यालयले भने लिलाम प्रक्रियामा कुनै अनियमितता नभएको जिकिर गरेको छ। कार्यालयका निमित्त प्रमुख चक्रबहादुर सोनीले सूचनामा भएको मूल्य उल्लेख ‘टाइप मिस्टेक’ भएको दाबी गरे।

“हामीले कानुनसम्मत काम गरेका छौँ। ट्रालीको हकमा ९५ हजार रुपैयाँको अगाडि गल्तीवश ‘१’ थपिँदा एक लाख ९५ हजार देखिएको हो,” सोनीले भने, “अन्य सबै कागजातमा ९५ हजार रुपैयाँ नै कायम छ। केही समूहको स्वार्थ पूरा नभएपछि कार्यालयलाई बदनाम गर्न खोजिएको हो।”

उनले आफूअनुकूल निर्णय गराउन दबाब दिने समूहको काम नगर्दा सामान्य प्राविधिक त्रुटिलाई ठूलो मुद्दा बनाइएको आरोप समेत लगाए।

रास्वपा र एमालेका स्थानीय नेताबीचको अडियो सार्वजनिक

यसैबीच, ट्राली लिलामकै विषयलाई लिएर आर्थिक लेनदेनबारे भएको भनिएको एउटा अडियो सार्वजनिक भएको छ।
उक्त अडियो रास्वपा टीकापुर–९ का सभापति चन्द्र धामी र एमाले कैलाली जिल्ला कमिटी सदस्य प्रकाश खड्काबीचको भएको बताइएको छ।

अडियोमा ट्राली लिलामसँग सम्बन्धित रकमको विषयमा कुराकानी भएको स्पष्ट सुनिन्छ। अडियोअनुसार खड्काले धामीलाई “अशोकले २० हजार रुपैयाँ दिन्छु भनेको” जानकारी दिँदै आफूले थप ४ हजार रुपैयाँ मागेको बताएका छन्। त्यसक्रममा धामीले रकम आफैं हाल्ने बताएका छन्।

खड्काले “अप्ठ्यारो नमान्नुहोला” भनेपछि धामीले, “अप्ठ्यारो मान्ने कुरा के छ र? दाजुभाइलाई खाजा खर्च भनेर सोचौँला,” भनेको सुनिन्छ। खड्काले रकम पठाउन वाट्सएपमार्फत क्यूआर कोड पठाउने कुरा पनि अडियोमा उल्लेख छ।

अशोक नामका व्यक्ति पनि टीकापुरकै स्थानीय रहेको खुलेको छ। धामी र खड्का दुवैले अडियोमा रहेको संवाद आफ्नै भएको स्वीकार गरेका छन्।

धामीले भने सम्पूर्ण प्रक्रिया पूरा गरेर आफूले ट्राली लिलाममार्फत खरिद गरेको दाबी गरेका छन्। उनका अनुसार खड्कालगायत केही युवाले अन्य व्यक्तिमार्फत रकमको प्रस्ताव पठाएपछि मात्र कुराकानी भएको हो। फोन संवाद भए पनि कुनै आर्थिक कारोबार नभएको उनको भनाइ छ।

यता, खड्काले भने लिलाममा सहभागी हुन आफूले पनि चार वटा फर्म दर्ता गरेको तर ठेक्का नपाएपछि लागेको खर्च धामीलगायत पक्षले फिर्ता दिने समझदारी भएको बताए। सोही समझदारीअनुसार आफूले रकम मागेको उनको दाबी छ।

तर उनले रास्वपाका केही नेताले भन्सार कर्मचारीसँग मिलेमतो गरेर ठेक्का हात पारेको र त्यसपछि आफूलाई नियोजित रूपमा बदनाम गर्न खोजिएको आरोप लगाएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...