


बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परी जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र पुर्चौडी नगरपालिका–८ की २४ वर्षीया बागमती साउद घाइते भएका छन् । घाइते मध्ये चालक बोहराको अवस्था गम्भीर रहेको छ ।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

