


सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रालयले बजेट निर्माणको संवेदनशील चरणमा भेटघाटमा रोक लगाएका छन्। आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले सर्वसाधारणदेखि राजनीतिक दलका नेता–कार्यकर्तासम्मका लागि भेटघाट बन्द गरेका हुन्।
मन्त्रालयको मूल गेटमै सूचना टाँस गर्दै ‘माननीय मन्त्रीज्यूको कार्यव्यस्तताका कारण आज (२८ गते) देखि भेटघाट बन्द गरिएको जानकारी गराइन्छ’ सूचनामा उल्लेख गरिएको छ। बजेट निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन तथा मन्त्रालयमा हुने भीडभाड र दबाब व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको जनाइएको छ।
बजेटको समय नजिकिँदै गर्दा मन्त्रालयहरूमा जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता तथा सर्वसाधारणको चहलपहल बढ्ने गरेको छ। योजना माग्ने र सिफारिस गराउने गतिविधि हरेक वर्ष बजेट निर्माणका क्रममा तीव्र हुने परिप्रेक्ष्यमा भेटघाट बन्द गरिएको हो।
सुदूरपश्चिम प्रदेशमा विगतदेखि नै योजना वितरणमा पहुँचको प्रभाव र ‘योजना खरिद–बिक्री’ हुने गरेको आरोप लाग्दै आएको छ। यस्ता विवाद न्यूनीकरण गर्न प्रदेश सरकारले यस वर्ष आयोजना छनोटका लागि छुट्टै मापदण्ड लागू गरेको जनाएको छ।
हाल सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्री विक्रम धामी र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल रहेका छन्।

