प्रतिनिधिसभामा टिकट नपाएका विष्ट सांसदलाई हराएर बने सभापति

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट दोहोरिएका छन् । सोमबारदेखि धनगढीमा भएको प्रथम महाधिवेशनबाट विष्ट ३५८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी प्रतिनिधिसभा सदस्यसमेत रहेका जनकसिंह धामीले १५४ मत प्राप्त गरे । कुल ५१३ मत खसेकोमा एक मत बदर भएको थियो । कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका धामीलाई पार्टी सभापतिमा दोब्बर बढी मतान्तरले पराजित गरेका विष्ट यसअघि तदर्थ प्रदेश समितिको सभापति थिए ।

२६ माघ २०७९ मा रास्वपाको तदर्थ समितिको सभापति बनेका विष्ट सुदूरपश्चिममा पार्टी संगठन गर्ने विस्तार गर्ने प्रमुख नेतामध्ये एक हुन् । पेसाले इन्जिनियर विष्ट कैलाली टीकापुरका स्थायी बासिन्दा हुन् ।

सांसदको टिकट पाएनन्, सांसदलाई नै पराजित गरे

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावमा विष्ट कैलाली–१ बाट लड्न चाहन्थे । तर पार्टी सभापति रवि लामिछानेले विष्टको ठाउँमा कोमल ज्ञवालीलाई टिकट दिए । ज्ञवाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।

प्रतिनिधिसभाको टिकट नपाएका विष्टले रास्वपाको प्रदेश महाधिवेशनमा पनि रोचक संयोग बेहोरे । सांसदको चुनाव लड्न नपाएका विष्टले महाधिवेशनमा पार्टीको सभापतिमा सांसदसँगै प्रतिस्पर्धा गर्ने मौका पाए । र, प्रतिस्पर्धी सांसदलाई पराजित गरे ।

‘सांसद भइसकेको व्यक्तिले सभापतिमा प्रतिस्पर्धा गर्नुहुन्न भन्ने महाधिवेशन प्रतिनिधिको आवाज थियो । त्यसविपरीत माननीय जनकसिंह धामी मैदान उत्रिनु भयो,’ एक नेता भन्छन्, ‘प्रतिनिधिले प्रकाशजीलाई नै अनुमोदन गर्ने निर्णय गरे । अब दुवै जना मिलेर अघि बढ्नुपर्छ ।’

मतदान प्रक्रिया सुरु हुनुअघि दार्चुलाका जनकराज पन्त र कञ्चनपुरका नारायण वैद्य पनि सभापतिको दाबेदार थिए । तर उनीहरू दुवै जना अन्तिम समयमा पछि हटेका थिए ।

प्रतिनिधिसभा सदस्य केपी खनालको पनि सभापतिको उम्मेदवार बन्ने चर्चा थियो । तर उनले महाधिवेशन हलमा मन्तव्य राख्ने क्रममा आफू सभापतिमा चुनाव नलड्ने घोषणा गरेका थिए ।

स्रोतका अनुसार प्रकाश विष्टको काउन्टरमा रवि लामिछाने पक्षले केपी खनाललाई अघि सार्ने रणनीति बनाएको थियो । तर त्यो प्रयास असफल भएपछि धामीलाई तयार पारिएको थियो । महाधिवेशनको उद्घाटन सत्र समापन गर्दै सभापति विष्टले पार्टी केन्द्रका नेता र सांसदहरूसँग गुटबन्दी गरेर पार्टीलाई कांग्रेस, एमालेको बाटोमा लैजान खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

कैलाली जिल्ला अधिवेशन बदर गर्ने केन्द्रको निर्णयमा पनि आपत्ति जनाएका थिए । दीपक बोहरा पक्षले विष्टलाई जसरी पनि सभापतिमा रोक्ने चाहनाबीच उनी प्रतिनिधिको चयनमा परेका हुन् । विष्टलाई महामन्त्री भूपदेव शाह लगायतका नेताले साथ दिएका थिए ।

पार्टीलाई एकताबद्ध गरेरे अघि बढ्ने प्रतिबद्धता

प्रदेश सभापतिमा दोहोरिएपछि विष्टले पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘यो जितले मलाई थप जिम्मेवारी बोध गराएको छ । हामी सुदूरपश्चिमलाई समृद्ध बनाउने अभियानमा अघि बढेका छौँ,’ विष्टले भने, ‘त्यो अभियानमा अघि बढ्ने बाटो खुलेको छ । सबै साथीहरूसँग काँधमा काँध मिलाएर अघि बढ्छौँ ।’

सभापतिका प्रतिस्पर्धी धामी र आफ्नो चाहना पार्टीलाई सुदूरपश्चिमको विकास र समृद्धिसँग जोड्ने भएकाले दुवै जनाको उद्देश्य एउटै भएको बताउँदै लोकतान्त्रिक अभ्यासलाई काममा पक्षरविपक्ष गरेर हेर्न नहुने उनको भनाइ छ ।

इन्जिनियर विष्टले इमबेडेड सिस्टम्समा स्नातकोत्तर गरेका छन् भने करिब १५ वर्ष भारतमा बसेर हनिवेल लगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरूमा आबद्ध भएर प्राविधिक, कम्पनी म्यानेजर र व्यवस्थापनमा काम गरेको अनुभव उनीसँग छ । सो क्रममा उनले जर्मनी र अमेरिका लगायतका मुलुकमा पनि काम गरिसकेका छन् ।

अहिले पनि विष्ट कैलालीमा व्यवसाय तथा कृषि उपकरण आविष्कारको क्षेत्रमा काम गरिरहेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...