


धनगढी । सुदूरपश्चिमका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले अस्वभाविक रुपमा गरेका काज सरुवा बदर भएका छन् ।

प्रहरीभित्र विचौलियाको राज चलाएर आर्थिक असुली गर्दै अस्वभाविक रुपमा काज सरुवा गरिएको विषय प्रेसपत्रले बाहिर ल्याएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रानाले गरेको काज सरुवाको निर्णय बदर गरिएको हो ।
समाचारमा भनिएजस्तै अस्वभाविक काज सरुवा गरिएको पाइएकाले प्रदेश प्रहरी कार्यालयलाई उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिइएको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्ष(डीआईजी) अबिनारायण काफ्लेले जानकारी दिए । उनकाअनुसार डीआईजी रानाले गरेको अस्वभाविक काज सरुवाको निर्णयबारे आन्तरिक रुपमा छानबिनको विषय पनि बन्नेछ ।
‘तपाईले भनेजस्तै उहाँ(राना)ले आफू सरुवा भइसकेपछि अस्वभाविक रुपमा प्रहरीको काज सरुवा गरेको पाइयो । प्रहरी प्रधान कार्यालयले त्यो निर्णय कार्यान्वयन नगर्न प्रदेशलाई निर्देशन दिइसकेको छ,’ काफ्लेले भने, ‘त्यसरी निर्णय किन गरियो ? भन्ने कुरा स्वभाविक रुपमा आन्तरिक छानबिनको विषय बन्छ । त्यसमा बुझ्ने काम हुन्छ ।’
प्रहरी प्रधान कार्यालयको निर्देशनपछि सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराई अस्वभाविक रुपमा गरिएको काज सरुवाको निर्णय बदर गरेका छन् । भट्टराईले शुक्रबार नै प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई डीआईजी राना सरुवा भएपछि गरेको काज सरुवा सम्बन्धी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिइसकेका छन् ।
उनले मौखिक रुपमा २९ जेठपछि काज सरुवा गरिएका कुनै पनि प्रहरी कर्मचारीलाई रमना नदिन निर्देशन दिएका छन् भने लिखित सर्कुलर पनि गरिने बताएका छन् । ‘अस्वभाविक रुपमा गरिएको काज सरुवा कार्यान्वयन नगर्न मातहतका कार्यालयलाई मौखिक आदेश भइसकेको छ,’ डीआईजी भट्टराईले भने, ‘लिखित रुपमा पनि सर्कुुलर गरिन्छ ।’
२७ असोज २०८१ मा सुदूरपश्चिम प्रदेशको प्रमुख भएर आएका डीआईजी ओमबहादुर रानाले विचौलिया र प्रदेशका घुुमुवा प्रहरी मार्फत आर्थिक असुली गरेर प्रहरी कर्मचारीको काज सरुवा गर्दै आएको गम्भीर आरोप छ । २९ जेठमा प्रहरी प्रधान कार्यालयले सरुवा गरेपछि मात्र रानाले जवानदेखि वरिष्ठ सईसम्मका चार सय ४४ जनाको काज सरुवा गरेका थिए । तर अब भने, रानाले सरुवा भएपछि गरेका सबै काज सरुवा बदर गरिएका छन् ।
यो पनि पढ्नुहोस
डीआईजी ओम रानाको पालामा सुदूरपश्चिम प्रहरीभित्र ‘विचौलिया’ राज

