


धनगढी । अछाममा सुकाएका ५ सय गाँजाका बोट र चरेससहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–८ ग्यानेगैडीका ५७ वर्षीय भैरव प्रसाद भाट रहेका छन्। उनले सञ्चालन गर्दै आएको किराना तथा चिया–नास्ता पसलबाट ८ ग्राम १९० मिलिग्राम चरेशजस्तो देखिने पदार्थ तथा ५ सय वटा सुकाइएका गाँजाका बोट बरामद भएपछि प्रहरीले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गोप्य सूचनाको आधारमा प्रहरी चौकी मंगलसेनबाट खटिएको टोलीले भाटको पसलमा खानतलासी गरेको थियो। सो क्रममा पसलभित्र रहेको टेबलमा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध तथा गाँजाका बोट फेला परेका थिए।
बरामद सामग्रीसहित भाटलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

