


बैतडी । बैतडीको सिगास गाउँपालिका–२, धौलाडीस्थित कच्ची सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सु.प.प्र. ०१–००१ च. ४०२८ नम्बरको जिप दिउँसो करिब साढे १२ बजेतिर दुर्घटनामा परेको हो। सिगासको बल्लेझुडामा यात्री पुर्याएर गान्जरीतर्फ फर्किँदै गरेको जिप उकालो चढ्ने क्रममा ब्याक भएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिप अनियन्त्रित भई पछाडि सर्दै सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटना हुनअघि चालकले हामफालेर ज्यान जोगाएका थिए। दुर्घटनामा जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
जिपमा चालकबाहेक अन्य कोही सवार नरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सिगास गाउँपालिका–२, खोल्टेका ३३ वर्षीय चालक गगनसिंह धामी सामान्य घाइते भएका छन्। उनको थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यसअघि शुक्रबार मात्रै बैतडीको शाहीलेक क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए। लगातारको सवारी दुर्घटनापछि पहाडी सडकमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

