सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक साताको समय

cp new add
Nisharg hospital

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरहरूमा बसिरहेका सुकुम्बासीहरूलाई ती केन्द्रहरू खाली गर्न थप एक हप्ताको समय दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज एक सूचना जारी गर्दै आगामी असार १९ गतेसम्मका लागि समयसीमा बढाएको हो ।

Telecome

यसअघि समितिले असार ९ गते सूचना निकाल्दै असार १२ गतेभित्रै होल्डिङ सेन्टरहरू छाडेर आ-आफ्नो व्यवस्थापन गर्न निर्देशन दिएको थियो । तर, घरभाडा खोज्न र अन्य व्यवस्था मिलाउन सो अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि समितिले म्याद थप गर्ने निर्णय गरेको हो ।

सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचनाहरू भत्काएको थियो । त्यसबेला बस्तीबाट हटाइएका नागरिकहरूलाई दशरथ रङ्गशालामा विवरण दर्ता गराई विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको थियो ।

हाल होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ दिएर त्यहाँबाट बिदा गर्ने तयारी गरेको छ । उक्त राहत रकम प्राप्त गर्न आगामी असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई आफ्नो बैंक खाता नम्बरसहित निवेदन दिन आग्रह गरिएको छ ।

उचित र स्थायी व्यवस्थापन विना नै २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरहरूबाट पनि निकाल्न लागिएको भन्दै सुकुम्बासी र सरोकारवालाहरूले विरोध गरेका छन् । नदी किनारबाट हटाउने समयमा ६० दिनभित्र स्थायी व्यवस्थापन गर्ने आश्वासन दिएर आफूहरूलाई होल्डिङ सेन्टरमा राखिएको तर, अहिले विना विकल्प हटाइन लागिएको उनीहरूको गुनासो छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...