अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रिया गरेका भण्डारीको अवस्था चिन्ताजनक, चिकित्सकमाथि लापरवाहीको आरोप

cp new add
Nisharg hospital

धनगढी । बैतडीको पाटन नगरपालिका–६ का हेमन्त भण्डारी सामान्य छाती दुख्ने समस्या देखिएपछि उपचारका लागि डडेल्धुरा अस्पताल पुगेका थिए । डडेल्धुरा अस्पतालले ईसीजी गरेपछि मुटुमा समस्या देखिएकाले थप उपचारका लागि कैलालीको अत्तरिया हस्पिटल पठाएको थियो ।
सामान्य छाती दुख्ने समस्या लिएर श्रीमतीसँगै आफैं अस्पताल पुगेका भण्डारी एम्बुलेन्समार्फत सोमबार अत्तरिया हस्पिटल आएका थिए। त्यहाँ पुगेपछि चिकित्सकले सामान्य जाँच पनि गरेनन् । डडेल्धुरा अस्पतालकै रिर्पोट हेरेर तत्काल शल्यक्रिया गर्नुपर्ने भन्दै उनलाई अप्रेसन थिएटरमा लगेको परिवारको भनाइ छ।

Telecome

भण्डारीका सहोदर दाजु उत्तम भण्डारीका अनुसार सामान्य अवस्थामै रहेका उनका भाइकी श्रीमतीले अभिभावक कोही नभएकाले केहीबेर पर्खिन आग्रह गरेकी थिइन्। तर, चिकित्सकले गम्भीर समस्या रहेको भन्दै हतारमै अप्रेसन थिएटरमा लगेको उनले बताए।

सोही दिन भण्डारीको मुटुको शल्यक्रिया गरियो। मुटुको शल्यक्रियापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै कम्तीमा २४ घण्टा बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने भए पनि अत्तरिया हस्पिटलले आईसीयूमा राखेर पनि आवश्यक हेरचाह नगरेको परिवारको आरोप छ।

हस्पिटलका अनुसार भण्डारी हृदयाघातको समस्या लिएर आएकाले तत्काल शल्यक्रिया गरिएको हो। उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डाक्टर विप्लव कार्कीले भण्डारी सोमबार मेजर हृदयाघातको समस्यासहित अस्पताल पुगेकाले सोही दिन शल्यक्रिया गरिएको जानकारी दिए। उनका अनुसार अर्को बिहान अचानक मुटुको धड्कनमा समस्या देखिएपछि तत्काल भेन्टिलेटरमा राखेर थप उपचार गरिएको थियो।

थप उपचारपछि मुटुको धड्कनमा सुधार आए पनि भण्डारीको होस नखुलेको डाक्टर कार्कीले बताए। त्यसपछि थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिइएको उनको भनाइ छ।

भण्डारीका दाजु उत्तमले भने शल्यक्रियापछि सामान्य अवस्थामा रहेका भाइलाई आईसीयूमै रहेका बेला पुनः हृदयाघात भएको तर हस्पिटलको लापरवाहीका कारण समयमै उपचार नपाउँदा ज्यान जोखिममा परेको दाबी गरे।

‘शल्यक्रियापछि पनि बिरामीको स्वास्थ्य अवस्था सामान्य थियो। आईसीयूमा रहेका बेला भिटी भयो। भिटी भएको १५ मिनेटभित्र उपचार पाउनुपर्ने हो,’ भण्डारीले भने, ‘तर भाइले समयमै उपचार पाएन। चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण सामान्य अवस्थामा अस्पताल पुगेको उनको ज्यान जोखिममा परेको हो।’

अत्तरिया हस्पिटलले थप परीक्षण नगरी डडेल्धुरा अस्पतालको ईसीजीकै आधारमा हतारमा मुटुको शल्यक्रिया गर्नु नै मुख्य लापरवाही भएको उनको भनाइ छ। स्वास्थ्यकर्मीसमेत रहेका हेमन्त भण्डारी पाटन नगरपालिका–५ मा अहेबका रूपमा कार्यरत छन्।

अत्तरिया हस्पिटलमा शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बनेपछि उनको अहिले भारतको रुद्रपुरस्थित मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ। भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। चिकित्सकले उनको ज्यान अझै जोखिममा रहेको बताउँदै अन्तिम प्रयास जारी रहेको जानकारी परिवारलाई दिइसकेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...