
बर्दियामा प्रहरीले १७ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरका अवैध भन्सार छलीका सामानसहित एक मिनी ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको मधुवन नगरपालिका–४ स्थित सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा कैलालीबाट तारातालतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ क १९९१ नम्बरको मिनी ट्रकबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न फेन्सी कपडा तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मिनी ट्रक कैलालीको घोडाघोडी नगरपालिका–११, पहलमानपुर निवासी ४४ वर्षीय चुनुराम चौधरीले चलाएका थिए। घटनामा चालक चौधरीसँगै कैलालीको टीकापुर नगरपालिका–१, बगरैयागाउँ निवासी ३० वर्षीय अजय चौधरीलाई पनि नियन्त्रणमा लिइएको छ।
बरामद सामानको अनुमानित मूल्य १७ लाख ६३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामानसहित मिनी ट्रकको कुल अनुमानित मूल्य ३२ लाख ६३ हजार ६ सय रुपैयाँ पुगेको छ।
बरामद सामान, मिनी ट्रक तथा नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि भन्सार कार्यालय, गुलरिया पठाइएको प्रहरीले जनाएको छ।
बरामद सामानमा प्लास्टिक रेनकोट (सिंगल, डबल तथा बालबालिकाका), खादा, स्पोर्ट्स हाफ पाइन्ट, अन्तर्वस्त्र, छाता, टी–सर्ट, जिन्स तथा कटन पाइन्ट, विन्डचिटर, ट्राउजर, बेल्ट, टोपीलगायत विभिन्न प्रकारका फेन्सी सामग्री रहेका छन्।

