
काठमाडौं। आज देशभर मौसम सामान्यदेखि अधिकांश बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी तथा हिमाली भू–भागका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्छ।

दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
रातिको समयमा देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान र कर्णालीका पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
विभागले मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

