
काठमाडौँ । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृतमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्ट असार २२ मा पक्राउ परेका थिए । प्रहरी वृत्त सातदोबाटोले उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ को सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। सो कसुर अन्तर्गतको मुद्दाको सुनुवाइ प्रमुख जिल्ला अधिकारीले गर्छन् । कसुर पुष्टि भएमा ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ।
भट्ट शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भएर सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन् । असार २१ मा साँझ ६ बजेतिर उनले दुर्व्यवहार गरेको भन्दै पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गरेकी थिइन्।
गल्लीमा एक्लै देखेपछि कपडा खोलेर गोप्य अङ्ग देखाएको भन्ने युवतीको आरोपमा भट्टले इन्कारी बयान दिएका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा उनले इन्कारी बयान दिएका हुन् । प्रहरी स्रोतका अनुसार बयानमा उनले भनेका छन्, ‘शौच गर्न लागेको थिएँ, दुर्व्यवहार गरेको छैन ।’
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
भट्टका आफन्तहरूले पनि शौच गर्दा दुर्व्यवहार गरेको आरोप लगाएको भन्दै सामाजिक सञ्जालमा उनको पक्राउको विरोध गरेका छन् । युवतीले स्मार्ट फोन मार्फत खिचेको भिडियोमा उनलाई अन्य पैदल यात्रुको सहयोगमा नियन्त्रणमा लिएर पीडितको खुट्टा ढोग्न लगाएको देखिन्छ । आरोपीले ‘सरी’ भनेको भिडियोमा देखिएको छ । तर, सो भिडियो सामाजिक सञ्जालमा अहिले डिलिट गरिएको छ ।
प्रहरीले अनुसन्धान गर्दा घटना भएको ठाउँमा सीसीटीभी क्यामरा भेटिएको छैन । अन्यत्रको क्यामरामा सो घटनाको तथ्य रेकर्ड नभएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ललितपुरका एसएसपी तुल बहादुर कार्कीले भट्टका आफन्तले गरेको दाबीबारे आफूले ‘जान्ने विषय नभएको’ बताए । घटनाको कारणबारे प्रश्न गर्दा एसएसपी कार्कीले भने, ‘मैले अनुसन्धान गरेर माथि पठाउँछु त्यहाँ अन्न खाने मान्छेहरूले निर्णय गर्छन्।’
भट्टमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएको थियो । पहिलो म्याद असार २८ मा सकिन्छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आरोपीसँगको बयान पुरा भैसकेको छैन । युवतीले दिएको जाहेरीमा टेकेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थलमा प्रत्यक्षदर्शी पनि नभएको एसपी मिश्रले बताए।

