
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान सरकार दसैँसम्म नटिक्ने दाबी गरेका छन्।

झापाबाट काठमाडौं आएका प्रसाईंलाई विमानस्थलको निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नदिने भन्दै प्रहरीले केही समय नियन्त्रणमा लिई घरसम्म पुर्याएको थियो। त्यसपछि आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले सरकार आफू आएको बाटोबाटै बाहिरिने टिप्पणी गरे।
‘दसैँसम्म टिकाऊ। जुन बाटोबाट आएको थियो, त्यही बाटोबाट जान्छौ,’ भन्दै प्रसाईंले सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाए। आफूलाई बोल्न नदिन र फसाउन विभिन्न प्रयास भइरहेको उनको दाबी छ।
प्रसाईंले गणेश नेपालीको आत्मदाह प्रयास र सुकुमवासीको विषयमा आफूलाई जोड्ने प्रयास गरिएको आरोप लगाउँदै त्यसलाई अस्वीकार गरे। साथै, सरकारले आफूलाई ‘भँडुवा’ भन्दै बदनाम गर्न खोजेको आरोप पनि लगाए।
उनले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै आफ्नो अभियान निरन्तर अघि बढाउने बताएका छन्।
प्रहरीले भने प्रसाईंले आक्रामक अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग हुने सम्भावना देखिएकाले विमानस्थलमा केही समय नियन्त्रणमा लिएर घरसम्म पुर्याएको जनाएको छ। प्रसाईंलाई स्वागत गर्न पुगेका युट्युबर तथा सञ्चारकर्मीलाई पनि विमानस्थलको बाहिरी गेटमै रोकिएको थियो।

