



सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा नेपाल विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आइतबार राति करिब ११ः४० बजे सेउती पुलबाट करिब २०० मिटर अगाडि तरहरातर्फ उत्तरबाट दक्षिण जाँदै गरेको बा १ ञ १६५१ नम्बरको विद्युत कार्यालय धरानको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक धरान–१३ निवासी ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राति १२ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक बिर्खबहादुर राई विद्युत वितरण केन्द्र धरानका करार चालक कर्मचारी हुन् भने सुमन आचार्य सोही केन्द्रमा हेल्पर (द्वितीय तह) का रूपमा कार्यरत थिए।
दुर्घटनामा घाइते धरान–२० निवासी ३२ वर्षीय पवन राई, जो विद्युत वितरण केन्द्र धरानका करार कर्मचारी हुन्, उनको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

