अब नागरिक एपमार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दात वास्तविक समयमै हेर्न सकिने भएको छ।
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने विवरण सहजै प्राप्त गर्न सक्ने भएका हुन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यस सेवामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एउटै स्थानबाट हेर्न सकिनेछ।
स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सुविधा नागरिक एपमा एकीकृत गरिएको मन्त्रालयले जनाएको छ। यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, रक्त व्यवस्थापन सहज हुने तथा रक्तसञ्चार सेवाको समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।