
विपक्षी दलहरुले सत्तारुढ ( रास्वपा ) सांसदका अमर्यादित व्यवहार सच्याउन हस्तक्षेपकारी भूमिका खेल्न सभामुख डोलप्रसाद ( डिपी ) अर्यालको ध्यानकर्षण गराएका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुखले विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए ।

विपक्षीले सत्तापक्षका सांसदका गतिविधिका कारण संसद् मर्यादित हुन नसकेको आरोप लगाए । अर्यालले संसदलाई मर्यादित बनाउन आग्रह गरेपछि विपक्षीले प्रतिवाद गरेका हुन् । उनीहरुले आफूहरुका कारण नभई स्वयं प्रधानमन्त्री, मन्त्री र रास्वपा सांसदहरुका कारण संसदको मर्यादामा गम्भीर प्रश्न उठेको बताए ।
बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री, मन्त्री र सत्तारुढ पार्टीका सांसदले नियमावलीको धज्जी उडाएर संसदको हुर्मत लिइरहेको आरोप लगाए ।
उनले रास्वपा सांसदहरुमा न्यूनतम अनुशासनको समेत कमी देखिएको टिप्पणी गरे । ‘हामीलाई मर्यादामा बस्नुस् भन्ने होइन, स्कुल पढ्न आएका ‘चकचके विद्यार्थी’ जस्ता सांसदलाई मर्यादित बनाउन भूमिका खेल्नुस्’, दुलालले भनेका थिए ।
त्यस क्रममा रास्वपा सांसदहरुले अनुगमनका नाममा मतदाता, शिक्षक र कर्मचारीको हुर्मत लिने काम गरिरहेको भन्दै त्यसमा तत्काल अंकुश लगाउन पनि विपक्षीले सभामुखको ध्यानाकर्षण गराए ।
रास्पपा सांसद केपी खनालले कैलाली–२ मा मतदातालाई ‘उठाइदिने, थुन्दिने’ जस्ता धम्की दिएको भन्दै विपक्षीले त्यस्ता विषयमा सभामुखको ध्यान जानुपर्ने बताए । आफूहरुले विपक्षी दलका सांसदले सरकारमाथि प्रश्न उठाउँदा सत्तापक्षका सांसदले जवाफ दिने प्रवृत्तिमा तत्काल रोक लगाउन पनि सभामुखसँग माग गरेको दुलालले बताए ।
आफूहरुले रास्वपा सांसदलाई नभई सरकारलाई सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले दिनुको साटो रास्वपा सांसदले दिने गरेकामा उनीहरुको आपत्ति थियो ‘हामी पनि जनताबाट निर्वाचित सांसद् हौं । हामीले देशका, जनताका, निर्वाचन क्षेत्रका विषय सरकारसँग उठाउँछौं । तर, मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषयमा उहाँहरुले नियमापत्तिका नाममा जवाफ दिने गर्नुभएको छ, संसदीय मर्यादाभित्र नपर्ने यो विषय तत्काल रोकियोस्’, दुलालले सभामुख अर्याललाई भने ।
सरकारको पक्षमा बोल्न मन भए छुट्टै समय लिएर बोल्नुपर्ने तर्क उनको थियो ।

