
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि देशभर सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन अपिल गरेका छन्।

शनिबार सार्वजनिक अपिल जारी गर्दै मुख्यमन्त्री शाहले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको मुलुक भएकाले कुनै पनि बहानामा हुने हिंसा, द्वेष र साम्प्रदायिक उत्तेजनाले कसैको हित नगर्ने उल्लेख गर्दै उनले सामाजिक, सांस्कृतिक तथा धार्मिक पर्व–उत्सव मर्यादित रूपमा मनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, घृणास्पद अभिव्यक्ति तथा भ्रामक सूचना फैलाएर समाजमा वैमनस्यता सिर्जना नगर्न पनि उनले सबैमा अनुरोध गरेका छन्।
मुख्यमन्त्री शाहले कानुन हातमा लिने, सामाजिक सद्भाव भड्काउने तथा अराजक गतिविधिमा संलग्न हुने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै संकटको यस घडीमा संयमता अपनाई स्थानीय प्रशासन र सुरक्षा निकायलाई सहयोग गर्न सबै नागरिकसँग आग्रह गरेका छन्।
सुनसरी घटनाको सम्भावित प्रभावलाई मध्यनजर गर्दै खुला सीमाबाट हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुदूरपश्चिमका सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन तथा निगरानी कडा पार्न सबै सुरक्षा निकायलाई निर्देशन दिइएको उनले बताएका छन्। प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई पनि उच्च सतर्कतामा रही शान्ति–सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिइएको जनाइएको छ।
मुख्यमन्त्री शाहले आम सञ्चारमाध्यमलाई सामाजिक सद्भावमा असर पुग्ने सामग्री प्रसारण नगरी सत्य, तथ्य र वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। साथै, सामाजिक सञ्जालमार्फत अफवाह र गलत सूचना फैलाउने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्।
यस्तै, हाल मनसुन सक्रिय रहेकाले सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद्को सामना गर्न प्रदेश सरकार पूर्ण तयारी अवस्थामा रहेको उनले उल्लेख गरेका छन्। विपद् पूर्वतयारी, खोज तथा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि प्रदेश, जिल्ला र स्थानीय तहका सबै संयन्त्र तयारी अवस्थामा रहेको जनाउँदै जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन र स्थानीय सरकार तथा प्रशासनसँग समन्वयमा रहन आग्रह गरेका छन्।
मुख्यमन्त्री शाहले मुलुकको शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, सामाजिक तथा धार्मिक अगुवा, उद्योगी–व्यवसायी, सञ्चारमाध्यम र आम नागरिकलाई सहयोग, समन्वय र सहकार्य गर्न आह्वान गरेका छन्।



